राष्ट्रियसभा निर्वाचनः पर्सीदेखि आचारसंहिता लागू हुने, के-के गर्न पाइन्छ के पाइँदैन ? (सूचनासहित)

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि  मंगलबारदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।

कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्‍न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्‍जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *