मिटरब्याजी विद्यालयः हुप्सेकोटको एक विद्यालय, जसले उठाउँदैछ ४० हजार साँवाको ११ लाख ब्याज !



नवलपुर । नवलपुरको एक सरकारी विद्यालयले ब्याजमा रकम लगाएर मोटो रकम असुलिरहेको पाइएको छ ।

हुप्सेकोट–४, शङ्खदेवमा रहेको शिक्षा बोधनी (सामुदायिक) माध्यमिक विद्यालयले ४० हजार रुपियाँ लगानी गरेर त्यसको ब्याजबापत चार लाख ६४ हजार ७९८ रुपियाँ असुलिसकेको छ भने गत असार २० गते सम्मको ब्याजबापतको छ लाख ३६ हजार ७९६ रुपियाँ भुक्तान गर्न ताकिता गरेको छ ।

एक दशकअघि स्थानीय दिलबहादुर राईले विद्यालयबाट ४० हजार रुपियाँ ऋण लिएका थिए । अर्का स्थानीय बेलबहादुर खालसँग रकम लिनुपर्ने भएकाले त्यो ऋण उनलाई थमाइयो ।

खालले पनि अर्का स्थानीय भीमबहादुर दर्लामीबाट रकम लिनुपर्ने भएकाले त्यो ऋण अन्त्यमा दर्लामीको काँधमा आयो । त्यसको ब्याज अहिले दर्लामीले विद्यालयलाई तिरि रहेका छन् ।

उनले हालसम्म ४० हजार रुपियाँको ब्याज चार लाख ६४ हजार ७९८ रुपियाँ तिरिसकेका छन् । “दुई रुपियाँ ब्याज भनेर मेरो साथीको पनि साथीले ४० हजार रुपियाँ लिएका रहेछन् । घुम्दै घुम्दै त्यो ऋण मेरो थाप्लोमा आइपुग्यो । दुईपटक गरेर चार लाख ६४ हजार नगद दिइसकैँ । अझै छ लाख ३६ हजार ७९६ रुपियाँ ऋण तिर्न बाँकी छ भनेर विद्यालयले ताकेता गर्दै पत्र पठाएको छ । रकम नभएर ऋण तिर्न सकेको पनि छैन,” उजुरीका लागि जिल्ला प्रहरी कार्यालयमा आउनुभएका भीमबहादुरले भने ।

पछिल्लो समय विद्यालयले तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद न्यौपानेको हस्ताक्षरमा गत असारमा पत्र काटी बाँकी छ लाख ३६ हजार ७९६ रुपियाँ भुक्तानी गर्न अन्तिम ताकेता गरेको थियो ।

भीमबहादुरका छोरा पदमबहादुरले पत्र काट्दा विद्यालयले ब्याजलाई पनि सावाँ किटान गरेर आफ्नो बाबुसँग तमसुक गरेको दाबी गरे । तत्कालीन प्रधानाध्यापक न्यौपानेले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय चलाउन लगाएको ब्याज उठाउन भनेकाले परिपत्र गरेको बताए ।

उनले भने, “मैले त तमसुक अनुसार पत्र काटेको मात्र हुँ । बाँकी कुरा समितिलाई बुझ्नुपर्छ ।” विद्यालयले ऋण लगानी गर्दा मित्रलाल तिवारी प्रधानाध्यापक थिए । यसबारे उनीसँग बुझ्न खोज्दा धेरै पहिलेको कुरा भएकाले आफूले बिर्सिसकेको बताए ।

उनले भने, “भीमबहादुरले भनेको कुरा सही हो तर मैले विद्यालय छाडेकै सात/आठ वर्ष भइसक्यो । मलाई सबै कुरा थाहा छैन । त्यतिबेला आन्तरिक स्रोतबाट राखेका शिक्षकलाई तलब दिन धान्याञ्चल गरेर उठाएको रकम ऋण लगानी गरिएको थियो । दुई रुपियाँ ब्याज तिर्न मञ्जुर गरेरै ऋण लगाइएको थियो ।”

हुप्सेकोट गाउँपालिका–४ का वडाध्यक्ष महेन्द्र पाण्डेले त्यतिबेला विद्यालय चलाउन धर्मभकारी राखे र उठेको रकम ब्याजमा लगाउने निर्णय भए अनुसार गरिएको बताए । पहिलेको समितिले गरेको कारो बार भएकाले स्पष्ट खातापाता नहेरी बोल्न नसकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर मसराङ्गीको भनाइ छ । हालका प्रधानाध्यापक दुर्गासिंह सारुले यस विषयमा पहिले को समितिलाई पनि बोलाएर बुझ्ने प्रतिव्रिmया दिए ।

ऋणी भीमबहादुरले भने आफूलाई विद्यालयले अनुचित लेनदेन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई समन्वय गर्न निर्देशन दिएको जानकारी दिए । उनले भने, “दुवै पक्षलाई राखेर छलफल गराउन सिडिओ साहेबले तोक लगाएर जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ ।’ – गोरखापत्र दैनिक