वरिष्ठ हवल्दार यादव जिल्ला तानिए



सर्लाही । सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनमा गोली चलाउने वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन्।

आन्दोलनकारीले यादवले नै गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानेर घटनाको छानबिन थालिएको सर्लाही प्रहरीले जनाएको छ ।

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो । आन्दोलनकारीले हतियार थुत्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ।