सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार सुशन र मुनकलाको मृत्यु, स्थानीयले जलाए बस



काठमाडौं । सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएकाे छ ।

आज बिहान सुनकोसी गाउँपालिका–३ बोहोरेटारस्थित विपि राजमार्गमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र मोटरसाइकल पछाडि सवार सोही नगरपालिका १० की १८ वर्षीया मुनाकला राई भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

बागमती प्रदेश ०१००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको हो । बसका चालक रामेछाप मन्थलीका रुपेश अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीय ले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सवारी साधनको बोहोरेटारमा लर्को लागेको छ । स्थानीयले उक्त बस जलाइदिएका छन् ।