सशस्त्रसहित दुवै देशका सीमा सुरक्षा बलको उपस्थितिमा कञ्चनपुरमा १४५ संयुक्त गस्ती



कञ्चनपुर । दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ। कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँचवटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक पेट्रोल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती, सीमा स्तम्भ रेखदेख तथा सीमा क्षेत्रमा हुने आपाराधिक गितिवधि नियन्त्रणमा दिनहुँ परिचालन भइरहेको सशस्त्र प्रहरी बल नं ३५ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिए।

पछिल्लो समय सीमासँग जोडिएका स्थानीय तहका वडामा सीमा सहजीकरण समिति गठन गरी सीमा समस्या समाधान, सीमा अपराध नियन्त्रणलगायतका विषयमा समेत सहकार्य भइरहेको छ। ‘चालु आर्थिक वर्षको साढे चार महिनामा मात्रै सीमा क्षेत्रमा एक सय ४५ वटा सीमागस्ती गरिएका छन्’, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, ‘फिल्डमा देखिने स–साना समस्या मिलेर समाधान गर्दै आएको छ।’