एसपी दाहालले हिरासतमा बिताए २० दिन, अझै कति बस्लान् ?



झापा । नेपाल प्रहरीका बहालवाला एसपी आज प्रहरी हिरासतमा बसेको २० दिन भएको छ ।

कात्तिक २४ गते नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले चलाएको जीपले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएपछि एसपी दाहाल प्रहरी नियन्त्रणमा परेका हुन् । दुर्घटनापछि प्रहरी नियन्त्रणमा परेका एसपी दाहालले यसपटकको तिहार पनि हिरासतमै बिताउन बाध्य भए ।

२४ गते राती झापाको कन्काइ नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा दाहालले चलाएको मे१च ७८३९ नम्बरको स्कारपियो जिपको ठक्कबाट  १० प १६६९ नम्बरको मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको थियो । बिरिङ पुलबाट खसेका अनिलको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनापछि मोटरसाइकलमा सवार अन्य २ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको थियो । घाइतेमध्ये मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया सामान्य र सवार अर्का यात्रु पुजन राजवंशी गम्भीर थिए । मोटरसाइकल चालक ताजपुरियासँग सवारी चालक अनुमति पत्र नरहेको जनाइएको छ भने बिनाहेल्मेट ताजपुरियाले चलाएको मोटरसाइकल तीब्र गतिमा रहेको जीपसँग ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना भएपछि झापा प्रहरीलाई जानकारी दिएर, घाइतेको उद्धार कार्यमा सहयोग गरी एसपी दाहाल कार्यक्षेत्र प्रदेश प्रहरी कार्यालय धरानतर्फ लागे पनि प्रहरीले २४ गते नै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणपछि एसपी दाहाललाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको छ ।

सर्वसाधारणले प्रहरीको उच्च तहका व्यक्तिले घटाएको घटना त्यतिकै सामसुम पार्ने आशंका गरे पनि प्रहरीले भने कानुन अनुसार नै कारबाही अगाडि प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीले एसपी दाहाललाई पनि सवारी ऐन अनुसार नै कारबाही हुने भएकोले बढीमा २५ दिन हिरासतमा लिएर कारबाही अगाडि बढाउने जनाएको छ ।

घटनाका बारेमा पनि इलाका प्रहरी कार्यालय बिर्तामोडले नै छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।