कोरोनाबाट चितवन कांग्रेस नेता तिमिल्सिनाको मृत्यु



चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको हो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।

उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए ।

सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर  पार्टीमा क्रियाशील थिए । उनी रेडियो देवघाटको अध्यक्ष  समेत थिए । नेपाल रेडक्रश सोसाइटीलगायत सामाजीक सङ्घ संस्थामा उनी सङ्लग्न थिए । उनका छोरा र दुई छोरी  छन् ।

सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । उनको आजै देवघाटमा अन्त्येष्टि गरिदैँछ ।