काठमाडौंको गैरीगाउँको काठ मिलमा एकैपरिवारका ३ सहित चारको हत्या, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।

गैह्रीगाउँको दिव्य सस्मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार चारै जना सोही सस्मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

यसैबीच उक्त घटनामा संलग्न रहेको आशंका प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति दिव्य सः मिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।