गृहसचिव र आईजी अर्यालबीच कार्य सम्पादन सम्झौता



काठमाडौं । सशस्त्र प्रहरी बल र गृहमन्त्रालयबीच आर्थिक वर्ष २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

गृहमन्त्रालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच उक्त कार्य सम्पादन सम्झौतामा गृह सचिव दिनेश भट्टराई र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सम्झौता भएको हो ।

उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उनले उल्लेख गरे ।

सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ-आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उनले व्यक्त गरे ।

नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव भट्टराई र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच उक्त सम्झौता भएको हो ।