पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्रले लिए सन्यास



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले संन्यासको घोषणा गरेका हुन् । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ ।

ज्ञानेन्द्रले भने,‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए। १० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो।

उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए। तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटायो।

२००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी-२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।