सेनामा जागीर लगाइदिने भन्दै ठगी गर्ने ८ ठग पक्राउ



दार्चुला । नेपाली सेनामा जागीर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट झण्डै १५ लाख ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेयले जानकारी दिए । उनीहरूले जागिर लगाई दिने भन्दै सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।

पक्राउ परेका नरेन्द्रसिंह महरले आफू सेनामा जागिर खाइरहेको र देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउँदै सेनामा जागरि लगाई दिने आश देखाएर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

डीएसपी पाण्डेयका अनुसार उनीहरूले पीडित सात जनालाई सेनामा सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन पनि देखाएका थिए । पक्राउ परेकाहरूको खाता नम्बर र ई–सेवामा रकम आएको पाइएको र उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।