हाईड्रोले प्रक्रिया नपुर्याई काम सुरू गरेको भन्दै पालिका अध्यक्षलाई ध्यानाकर्षण



काठमाडौं । लिखु-पिके हाईड्रोले प्रक्रिया नपुर्याई काम सुरु गर्न लागेको भन्दै स्थानीय युवाहरुले खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ओखलढुङ्गास्थित खिजीदेम्बा गाउँपालिका वडा नं. ४ स्थानीय युवाको एक समूहले मंगलबार पालिका अध्यक्ष शेर्पालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

१८ बुँदे ध्यानाकर्षण पत्रमा होइड्रोबाट प्रभावित खिजीदेम्बा गाउँपालिका ३, ४ र ७ का युवाहरुलाई क्षमताअनुसार होइड्रोले रोजगारको व्यवस्था मिलाउनु पर्ने, ठेकेदार कम्पनीले समुदायसँग सम्झौता गरी सार्वजनिक सुनुवाई गरेपश्चात् काम थाल्नुपर्नेलगायत उल्लेख छ ।

त्यस्तै प्रभावित क्षेत्रमा निःशुल्क विद्युत वितरण, उचित शेयर वितरण र दुबै पालिकाका ६ वटै वडावासीहरुलाई तत्काल प्रोजेक्ट रिपोर्ट कुल लागत सहितको स्टमेट बुक प्रभावित प्रत्येक वडालाई एकप्रति उपलब्ध गराई संसोधन समेत गर्न पाउनु पर्ने लगायतको मागहरु समावेश गरिएको छ ।

हाइड्रो निर्माण हुँदा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको तीन र रामेछाप लिल्लाको उमाकुण्ड गाउँपालिकाको तीन गरी छ वटा वडाबासीहरु प्रत्यक्ष प्रभावित हुनेछन् ।

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष शेर्पाले हाईड्रोले प्रक्रिया नपुर्याई काम थाले पालिका गर्नुपर्ने कुनै कसुर बाँक नाराखिने बताए । उक्त अवसरमा हाइड्रोले प्रक्रिया नपुर्याई हस्तक्षेप शैलीमा काम गर्न लागेकोमा पालिकाको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष शेर्पाले बताए । उनले थपे— प्रक्रिया अनुसार प्रोजेक्ट अघि बढे पालिकाले स्वागत र साथ सहयोग गर्नेछ ।

३० मेगावाट क्षमताको होइड्रो रामेछापको उपाकुण्ड गाउँपालिका र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका सिमानामा निर्माण हुन लागेको हो ।

ओखलढुंगा, रामेछाप र सोलुखुम्बु भएर बग्ने लिखु नदीमा विभिन्न ६ वटा भन्दा बढी जलविद्युत आयोजना सञ्चालन भईरहेका छन । निजी कम्पनीहरुद्वारा सञ्चालित आयोजनाहरुले मापदण्ड पालना नगर्दा स्थानियबासी, जलचर र त्यस वरिपरिको वातावरणमा समेत असर पर्न थालेको छ ।