नक्कली भुटानी शरणार्थी प्रकरणः यी ३२ विरूद्ध मुद्दा चलाउने सिफारिससहित प्रहरीले बुझायो प्रतिवेदन



काठमाडाैं । प्रहरीले उच्च पदस्थसमेत संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। झण्डै दुई महिना लामो अनुसन्धानपछि तयार प्रतिवेदन प्रहरीले सोमबार दिउँसो बुझाएको हो।

३२ जना संलग्न रहेको यस प्रकरणमा राज्यविरुद्ध अपराधसहित ठगी, संगठित अपराध र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस गर्दै प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकारीले जानकारी दिए।

प्रहरीले हालसम्म पक्राउ परेका १६ सहित अन्य १६ जनालाई फरार करार गर्दै उनीहरुविरुद्ध कम्तीमा चार मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको यस प्रकरणमा सार्वजनिक पदधारण गरेका उच्च पदस्थहरूसमेत मुछिएका छन्।

प्रकरणमा संलग्न गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम असुल गरेको अनुमान गरिएको छ। १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा चलाउन प्रहरीले राय दिएको छ।

भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो। त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

यसबीच पूर्व र बहालवाला सार्वजनिक पदधारण गरेका उच्च पदस्थहरूसहित १६ जना पक्राउ परेका छन् भने १७ जना फरार छन् र उनीहरूविरुद्ध फरार अभियुक्तका रूपमा मुद्दा चलाउन सिफारिस गरिएको हो।

प्रकरणमा हालसम्म पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव (उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका उच्च पदस्थहरू पक्राउ परेका छन्।

यस्तै ठगीमा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, पूर्वगृहमन्त्री थापाको सुरक्षा सल्लाहकार राईका छोरा नीरजलगायत फरार छन्।

पीडितहरूको उठाएको पैसा लेनदेनमा संलग्न भएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ।