रवि लामिछाने भन्छन्, ‘मेरा आँखामा पनि आँशु आउँछन्, बिन्ती छ नुनचुक बोकेर नआउनु होला’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन्।

सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्- आज बिहान  प्रिय  शम्भु भाइ (मेरो गाडी चालक)  छत बाट खसेर दुर्घटनामा पर्नु भयो। सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भर्खरै पनि  मैले चिकित्सकसँग  परामर्श गरेअनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर  छ।

यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले धेरै नबोल्ने उनले बताएका छन्।

‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर  राजनीतिकरण नगर्नुहोला,’ उनले लेखेका छन्,‘सक्नुहुन्छ भने मलाइ सहने शक्ति  मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *