कोरोनाबाट एक जनाको मृत्यु, पछिल्लो २४ घन्टामा थपिए १२१ नयाँ संक्रमित



काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट नेपालमा लगातार दोस्रो दिन मृत्यु भएको छ ।

योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको छ । असोज ८ गतेपछि पहिलो पटक म‌ंगलबार कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै पीसीआर विधिबाट देशभर सङ्क्रमितको सङ्ख्या ४४५ पुगेको छ । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।