सशस्त्रद्वारा श्रोत नखुलेको ३ लाख बढी रकमसहित एक भारतीय पक्राउ



सर्लाही । सशस्त्र प्रहरीको गस्ती टोलीले जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा ईलाकाबाट चैत्र २१ गते करीव ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने २७ वर्षिय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।

बी.आर. ३० ए.ए. ३४५५ नम्बरको मोटरसाईकलमा सवार उनलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । बरामद भएको उल्लेखित रुपैयाँमा १ सय दरको २ सय वटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ ।

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।