२ बुँदे एजेन्डासहित रास्वपाका तीन भाईको पत्रकार सम्मेलन आज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

अध्यक्ष रवि लामिछानेले अपराह्न ४ बजे बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिने सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेलसहितको तस्बिर शेयर गर्दै उक्त कुरा जनाएका छन् ।

त्यस्तै स्वर्णिम वाग्लेले आज भद्र राजनीतिक विद्रोह भन्दै सुशासन र आर्थिक उन्नतीको दुई बुँदासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

**भद्र राजनीतिक विद्रोह**
सुशासन र आर्थिक उन्नतिको सरल २ बुँदे एजेण्डा सहितको आगामी कोर्सबारे आज ४ बजे बोल्नेछु। रा.स्व.पा. को घन्टी चुनाव चिन्ह लिएर चितवन-२, बारा-२ र तनहुँ-१ मा हामी ३ भाइ उत्रेका छौं।
कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका वाग्ले उपनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्दैछन् भने बारा २ बाट खेरल लड्ने भएका छन् । अध्यक्ष लामिछाने चितवन २ बाट उठ्दैछन् ।