चौधरी फाउण्डेसनको सहयोगमा नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालन



नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञ सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।

सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवनसहित बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।

नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीले सेन्टर सञ्चालनमा आएपछि ग्रामिण क्षेत्रका महिलाहरु लाभान्वित विश्वास व्यक्त गरे । उनले जिल्लाको दक्षिण भेगका दिदीबहिनीहरुले गाउँमै विशेषज्ञ सुविधासहितको प्रसुति सेवा पाउने बताए ।

साथै उनले स्वास्थ्य केन्द्रको स्तरोन्नतिपछि स्थानीयले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । ‘चुनावका बेला गरिएको प्रतिवद्धता कार्यान्वयनमा हामी प्रतिवद्ध छौं’, उनले भने, ‘निर्वाचनका बेला हामीले जे गर्छाैं भनेका छौं, त्यसका लागि व्यवस्थित विकासको खाका बनाएर अगाडि बढिसकेका छौं ।’

प्रदेश सभा सांसद देवकरणप्रसाद कलवारले चुनावपछि निर्वाचन क्षेत्रमा विकासका कामले तीव्रता पाएको बताए । उनले सांसद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सञ्चालनमा आएको बताए ।

‘माननीय विनोदजीले चुनाव जितेपछि हाम्रो निर्वाचन क्षेत्रमा विकासका कामहरु अगाडि बढेका छन्,’ उनले भने, ‘स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालको स्तरोन्नतिदेखि बर्थिङ सेन्टर सञ्चालन त्यसैका उदाहरण हुन् ।’ सांसद चौधरीले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

सम्झौताअनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको हो । त्यस्तै गाउँपालिकाले प्रत्येक वडामा नियमित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।

फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताइन् ।

‘बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ’, उनले भनिन् । फाउण्डेसनको सहयोगमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको स्तरोन्नतिको काम पनि अगाडि बढिसकेको छ ।