शिक्षकले कुटेको भन्दै कक्षा ११ की छात्राद्वारा आत्महत्या !



विराटनगर । झापामा गौरीगञ्जस्थित गौरीगञ्ज मावि कक्षा ११ मा अध्ययनरत छात्राले आत्महत्या गरेकी छन् ।

गौरीगञ्ज ३ कृपालटोलीकी सोनी राजबंशीले शिक्षकले कुटेको भन्दै आत्महत्या गरेकी बताइएको छ । मंगलवार स्कूलबाट घर फर्किएलगत्तै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्दार गरी अस्पताल पुर्याएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ सोनीकी बहिनीले देखेपछि उद्दार गरेर दमक उपचारको लागि लगिएकोमा मृत्यु भएको थियो ।

सोनीको मृत्यको घटनालाई लिएर वुधबार बिहानैदेखि गौरीगञ्जमा स्थानीय आन्दोलन गरेका छन् । प्रत्यक्षदर्शी विद्यार्थीहरुका अनुसार सोमाबर विद्यालयमा केटा साथीसँग बसेको निहुमा विद्यालयका शिक्षक पवन दासले उनलाई लट्ठीले कुटपिट गरेका थिए । विद्यालयमा शिक्षक पवन दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिट गरेको भिडियो बनाएका कारण सोनीले आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तको छ ।

पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीहरुले आरोपित शिक्षकहरुलाइ पक्राउको माग गर्दै बिहान इलाका प्रहरी कार्यालय धर्ना दिएका थिए । आरोपित शिक्षकहरुलाई पक्राउ गर्न ढिलासुस्ती गरेको भन्दै आक्रोशित आफन्त र मृतकका साथीहरुले शिक्षक पवन दासको घरमा तोडफोडसमेत गरेका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आरोपित शिक्षकलाई पक्राउ गरिएपछि अहिले अवस्था सामान्य हुँदै गएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।