मौलिक संस्कृतिले नेपाललाई विश्वासामू परिचित गराउँछः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेकी छन्।

माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ।

विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनको भनाइ छ।

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढंगले हर्षोल्सासपूर्वक मनाउने गर्दछन्। विशेषगरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन्।

‘सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्।

माघीका दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपश्चात घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाइ रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *