उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा !



काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । सर्वोच्च अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको सैनिक स्रोत बतायो ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले विगतमा परेका केही उजुरीको विषयमा छानबिन गर्नुपर्ने भएकाले ‘भित्रै बस्न’ निर्देशन भएको बताए । उनले भने, ‘अदालतको आदेश एउटा पाटो भयो, अर्को पनि छानबिन गर्नुपर्ने विषय थियो ।’

स्रोतका अनुसार उपरथी शाहीविरूद्ध ‘आर्थिक अनियमितता’ उजुरी परेपछि नियन्त्रणमा लिइएको जनाइएको छ ।

उनको शैक्षिक प्रमाण पत्रमा दुईथरिको उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए । अवकाशको १५ दिन अघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी आदेश दिएको थियो ।