एक्सनमा उत्रिए सांसद विनोद चौधरी, नवलपरासीका सुकुम्बासी समस्या समाधान नै पहिलो प्राथमिकता’



नवलपरासी । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद बिनोद चौधरीले नवलपरासीका सुकुम्बासीको समस्या समाधानका लागि पहिलो प्रयास गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले अव्यवस्थित तथा सुकुम्वासी समुदायलाई समयमै जग्गा धनी पुर्जा गराउने उदेश्यले राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोलीसँग छलफल अघि बढाएका हुन् ।

नवलपरासीको परासीमा आइतबार राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला सहितको अन्य सरोकारवालाहरुसँग छलफल गरी करिव तीन महिना भित्र पश्चिम नवलपरासीका अव्यवस्थित तथा सुकुम्वासी समुदायलाई जग्गा धनी उपलब्ध गराउने उदेश्यले छलफल अघि बढाएका हुन् ।

बिशेष गरी सांसद चौधरीले हालसम्म अव्यवस्थित तथा सुकुम्वासी समुदायलाई जग्गा धनी पुर्जा प्राप्तिका लागि अघि बढाईएको प्रकृया , देखिएको समस्या र समाधानको दिर्घकालीन उपाय बारे सरोकारवालासँग छलफल गरिएको प्रतिक्रिया दिए ।

सांसद चौधरीले आफु संघीय सांसद निर्वाचित भएको करिव एक सय दिन भित्रै जनतालाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने र बर्षोदेखी अलपत्र परेको अव्यवस्थित तथा सुकुम्वासी समुदायको दिर्घकालीन रुपमा समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको चौधरीले बताए ।

छलफलको क्रममा अव्यवस्थित तथा सुकुम्वासी समुदायलाई तत्काल पहिलो चरणमा जग्गा धनी पुर्जाको प्रारम्भिक रुप निस्सा उपलब्ध गराउने र एक दिन भित्र नियमानुसार जग्गा धनी पुर्जा उपलब्ध गराउने सहमती भएको थियो । छलफलको क्रममा राष्ट्रिय भुमी आयोग नवलपरासीका संयोजक देवराज भण्डारी सहितको जिल्ला प्रतिनिधीहरुको टोली , यसैगरी बर्दघाट नगरपालिका , प्रतापपुर गाउँपालिका , सुस्ता तथा सरावल गाउंपालिका प्रमुख साथै नापी कार्यालय लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

उक्त अवसरमा पूर्व गृह राज्यमन्त्री एवं कांग्रेस नेता देवेन्द्रराज कँडेल , प्रदेशसभा सदस्य देवकरणप्रसाद कलवार , बिश्वप्रेम पाठक, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

नवलपरासी पश्चिम १ बाट निर्वार्चित सांसद चौधरीले नवलपरासीमा देखिएको अव्यवस्थित तथा सुकुम्वासी समुदायलाई तत्कालै नियमानुसार जग्गा धनी उपलब्ध गराउने उद्देश्यले छलफल अघि बढाएका हुन् । पश्चिम नवलपरासीमा करिव १० हजार अव्यवस्थित तथा सुकुम्वासी समुदाय रहेको जनाइएको छ ।