यी एक जोडी, जो जाँदैछन् सँग-सँगै संसद् !



काठमाडौं – जारी मतगणनामा प्रत्यक्षमा एक दम्पतीले जित हात पारेका छन् ।

नेपाली कांग्रेसका महेन्द्र यादवलाई ११२ मतले पराजित गर्दै नेकपा एमालेका रघुवीर महासेठ धनुषा– ४ बाट निर्वाचित बनेपछि प्रतिनिधिसभामा प्रत्यक्षबाटै जित हात पार्ने एकमात्र दम्पती बनेका छन् । उनीहरू प्रत्यक्षबाट संसदमा प्रतिनिधित्व गर्ने एकमात्र जोडी हुने निश्चित भएको छ ।

उनकी श्रीमती जुलीकुमारी महतोले यसअघि नै धनुषा-३ बाट जित हात पारिसकेकी छिन् ।

एमाले सचिवसमेत रहेका रघुवीरले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्।

११२ मतान्तरले रघुवीर विजयी भएको निर्वाचन अधिकृत सुदीप दंगालले बताए। मतगणनाका क्रममा अधिकांश समय अग्रता लिएका यादवले अन्तिम चरणको मत गणनाका क्रममा झिनो मतान्तरबाट हार ब्यहोर्न बाध्य भए ।

यसअघि नै श्रीमती जुलीकुमारीले लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई करिब १० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् । जुलीकुमारीले ३३ हजार ३ सय ८८ मत ल्याउँदा झाले २३ हजार ६८६ मत ल्याएका थिए ।

यसरी श्रीमान् श्रीमतीले नै प्रतिनिधिसभामा प्रत्यक्षमा जित हात पार्ने महासेठ दम्पती एकमात्र दम्पती हुन् ।

यस निर्वाचनमा यी बाहेक वर्षामान पुन र ओनसरी घर्ती प्रत्यक्षमा निर्वाचनमा होमिएका थिए । ती मध्ये वर्षामानले रोल्पाबाट जित हात पार्दा ओनसरी काठमाडाैं-२ बाट पराजित बन्न पुगिन् ।

त्यस्तै यस पटकको निर्वाचनमा अर्को दम्पती प्रतिनिधिसभा सदस्य बन्ने सौभाग्य प्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवाले पाउने देखिएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा जित हात पारिसकेका छन् भने डा. आरजु समानुपातिकमा रहेकी छिन् । कांग्रेसले प्रत्यक्षतर्फ १ सिटमात्र जितेको हुनाले आरजु समानुपातिकबाट सांसद बन्ने निश्चित छ । उनको नाम खस आर्य महिला तर्फ तेस्रो नम्बरमा नाम छ । तर यो जाेडी समानुपातिक र प्रत्यक्षतर्फबाट संसद जाने भएको हो ।

त्यस्तै अर्का जोडी पनि प्रतिनिधिसभा सदस्य हुने सम्भावना थियो । तर, प्रत्यक्षमा लडेका श्रीमान् एवं गृहमन्त्री बालकृष्ण खाँण पराजित बनेपछि उनको दम्पती नै सांसद हुने बाटो रोकिएको हो । उनकी श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिक सूचीमा छिन् । र उनी पनि सांसद बन्ने निश्चित नै छ । उनको नाम खसआर्यतर्फ महिलाबाट छैठौं नम्बरमा नाम छ ।

समानुपातिकमा समेत गरेर भने जसपाका नेता अशोक कुमार राई र उनकी पत्नी पनि सांसद बन्ने सम्भावना रहेको छ । अशोकले सुनसरी–१ बाट जित हात पार्दै गर्दा उनकी पत्नी सुशीला श्रेष्ठ समानुपातिक सूचीमा छिन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलको दम्पतीको पनि सम्भावना कायमै छ । उनले बाग्लुङबाट प्रत्यक्षमा जित हात पार्दै गर्दा उनकी श्रीमती बलावती शर्मा प्रतिनिधिसभाकै समानुपातिकमा खस आर्य महिलातर्फ ८ औं नम्बरको सूचीमा छिन् ।