‘सरप्राइज’ मतसहित मेयरमा हारेका सिंहले तय गरे संसदयात्रा…



हेटौंडा । मकवानपुर–१ को मतगणनामा चल्दै गर्दा सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पारिरहेकी थिइन् । चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा राप्रपा उम्मेदवार दीपकबहादुर सिंह दृश्यमै थिएनन् । उपाध्याय र थापाले राप्रपाका सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त हेरेका थिए, तर प्रतिस्पर्धी मान्न तयार थिएनन् ।

जब हेटौंडा उपमहानगरपालिका क्षेत्रका मतपेटिकाबाट मतपत्र निकाल्न थालियो, डिनालाई अग्रता जोगाउन सकस मात्रै परेन, नगरका केही वडाको मत गन्न बाँकी छँदै कमल थापाले हार स्वीकार गर्ने अवस्था बन्यो ।

एकाएक नगर क्षेत्रबाट आएको मतले दीपक सिंहलाई संसदको ढोका खोलिदियो । जुन, मतपरिणाम कांग्रेस, एमाले, राप्रपा नेपालका लागि ‘सरप्राइज’ थियो ।

अन्तिम मतपरिणाम अनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए । तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए । हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे । अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे ।

अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि ‘अप्रत्यासित’ नतिजा हो ।

२०५४ सालमा पहिलोपटक मेयरमा राप्रपाबाट चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १ हजार २०० मतान्तरमा पराजित भएका थिए । २०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा चुनाव लडेका उनी एमालेका विरोध खतिवडासँग र २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए ।

गत ३० वैशाख २०७९ को स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा २० हजार ५३१ उनी तेस्रो भएका थिए भनेर अनलाइनखबरले प्रकाशित गरेको छ ।