भृकुटी कागज कारखाना र श्रमिक समस्या चुनावपछि समाधान हुन्छः शशांक



गैंडाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् ।

गैँडाकोटमा आज आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले नेपालकै ठुलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधान हुने बताए । ‘जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ’, नेता कोइरालाले भने ।

केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे ।

‘उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ’, उनले भने, ‘रुग्ण उद्योगका बारेमा गम्भीरतापूर्वक लागि परिने छ ।’ राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए ।

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए ।