बीपीलाई कांग्रेसले बिर्सेलान् तर राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैनः मनिषा कोइराला



पोखरा । कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी एवं अभिनेत्री मनिषा कोइरालाले बीपीको बाटोमा राप्रपा रहेकाले उक्त पार्टीलाई मत दिएर जिताउन आह्वान गरेकी छन् ।

पोखरामा शुक्रबार आयोजित राप्रपाको जनसभालाई सम्बोधन गर्दै मनिषाले तत्कालीन राजा महेन्द्र र बीपी कोइरालाबीच अत्यन्त राम्रो सम्बन्ध हुँदाहुँदै पनि मुलुकले ठूलो अवसर गुमाएकाले बीपीलाई सम्झेर राप्रपालाई भोट दिन आग्रह गरिन् ।

उनले जनतालाई ढाँटेर आश्वासन दिने नेताहरुलाई जनताले चोर आयो भनेर राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिले आफू प्रभावित भएको समेत बताएकी छन् ।

मनिषाले भनिन्- कांग्रेसले बीपीलाई बिर्सेलान् तर उहाँ राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन । राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपी बाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै उहाँले अहिले उठाउनुभएको छ । त्यसकारण म उहाँसँग उभिएकी छु । उहाँका सबै कुरा मन परेको छ । भ्रष्टाचार गरेमा आमाको रगत खाए सरह हो भन्ने कुरा र नेताहरु चोर भन्ने कुरा मन परेको छ ।

फिल्म सुटिङ स्थगित गरेरै आएकी मनिषाले विपी र महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दूराज्य फर्काएर पूरा गर्ने समय आएको दाबीसमेत गरिन् । उनले राप्रपालाई जिताउँन र मौकालाई व्यर्थ खेर जान नदिन आह्वानसमेत गरेकी छन् ।