गयौ छोरी चढेर जहाजमा, फर्क्यौ बाकसमा…
माल्टामा मृत्युभएकी कन्यामकी ढुंगेलको शव नेपाल ल्याइयो
काठमाडौं । चलचित्र परदेशीमा प्रशान्त तामाङ र उषा मगरले गाएको गीत ‘गयौ आमा चढेर जहाजमा, फर्क्यौ बाकसमा…’ भन्ने गीतलाई सम्झाउने गरी विनिता काठको बाकसमा नेपाल फर्काइएकी छिन् । जाँदा आफैं जहाज चढेर गएकी अविवाहिता विनिता फर्किँदा बाकसमा फर्काइएकी छिन् । अहिले यतिबेला विनिताको परिवारमा यही गीतलाई सम्झाउने कहालीलाग्दो घटना घटेको छ ।
आफू विदेशी भूमिमै भए पनि काम गरेर परिवारको उज्जवल भविष्यको सपना देख्दै विदेशिएकी इलाम सूर्योदय—६ की विनिता ढुंगेल एकमहिनामै ‘बाकस’मा स्वदेश फर्किएकी छिन् । अविवाहित ढुंगेलको माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि माल्टास्थित मातर देइ अस्पातालमा मृत्यु भएको थियो ।
डेंगुका कारण अस्पतालमै ज्यान गुमाएकी ढुंगेलको शव एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा बिहीबार नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनको शव बाहिरिइरहँदा उनका परिवारमात्र नभई अन्य मानिसहरु पनि भावविह्वल बनेका थिए ।
एनआएनए माल्टाका अध्यक्ष अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो ।
माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । तर एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरूसँग आर्थिक सहयोग संकलन गरेर शव पठाइएको हो ।
यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कुटनीतिक पहल मार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुखद् घटनाबीच पनि सकारात्मक भएको बताए ।
४५ दिनअघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो ।
यसैबीच माल्टामै मृत्यु भएका आकास बुलिमको शव पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।