पूर्वी नवलपुरः दोहोरिने दाउमा कोइराला र महत, पौडेल र कार्कीको पहिलोपटक संसद छिर्ने रहर !



नवलपुर – आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशको छिमेकी मुलुक भारतसँग सीमा जोडिएको एकमात्र जिल्ला नवलपुर (ब.सु.पू) मा चुनावी सरगर्मी बढ्दै गइरहेको छ ।

पूर्वी नवलपुरको दुईवटै क्षेत्रमा गत निर्वाचनकै विजेता उम्मेदवारहरुले यसपटक पनि उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उम्मेदवारी दिएका छन् भने क्षेत्र नं. २ मा नेकपा एमालेका तिल बहादुर महत क्षेत्री (तिलक) ले उम्मेदवारी दिएका छन् ।

नेता शशांकले यसपटक नेकपा एमालेका कृष्ण प्रसाद पौडेलसँग प्रतिस्पर्धा गर्दैछन् भने महतले भने गत निर्वाचनकै प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णु बहादुर कार्कीसँग चुनावी मैदानमा उत्रिएका छन् । नवलपुरबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये डा. शशांक कोइराला र तिलबहादुर महत क्षेत्रीले प्रतिनिधिसभामा दोहोरिने प्रयास गरेका छन् भने कृष्णप्रसाद पौडेल र विष्णुबहादुर कार्कीले पहिलोपटक प्रतिनिधिसभामा छिर्ने आशामा चुनावी मैदानमा उत्रिएका छन् ।

गठबन्धनका अन्य दलहरुको खासै ठूलो प्रभाव नरहे पनि प्रदेशसभामा कांग्रेसका महेन्द्रध्वज जिसी र एकीकृत समाजवादीका गोपाल खनालको उम्मेदवारीका कारण रोमाञ्चक भने बन्ने निश्चित छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश (क) मा कांग्रेसका महेन्द्रध्वज जिसी र नेकपा एमालेका रविन्द्र अधिकारी चुनावी मैदानमा छन् भने प्रदेश (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका लोकप्रसाद भुर्तेल र नेकपा एमालेबाट रोशनबहादुर गाहा मगरले उम्मेदवारी दिएका छन् । रोशन यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै क्षेत्र नं. २ अन्तर्गतको प्रदेश नं. (क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका सौगमकुमार सिरपाली र नेकपा एमालेबाट पदमा जिसी चुनावी मैदानमा छन् भने प्रदेश (ख) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका डा. गोपाल खनाल र नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डे चुनावी मैदानमा उत्रिएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा सकारात्मक नतिजा ल्याएको नेकपा एमालेले अहिले नवलपुरलाई आफ्नो पकडको क्षेत्रको रुपमा मानेको देखिन्छ । तर, पनि क्षेत्र नं. १ मा कांग्रेसको विरासत बोकेका कोइराला परिवारका सदस्य शशांक कोइराला नै उम्मेदवार बनेकोले सहज भने पक्का छैन । कोइराला यसअघिका ३ वटा निर्वाचनमा यही क्षेत्रबाट लगातार जित हात पार्दै आएका उम्मेदवार हुन् ।

अघिल्लो पटकको निर्वाचनमा डा. कोइरालाले ४० हजार ६२० मत ल्याएर जित हात पारेका थिए भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भविसोर पराजुलीले ३६ हजार ५९६ मत ल्याएका थिए । त्यस निर्वाचनमा उक्त क्षेत्रमा नेकपा एमाले र माओवादीको गठबन्धन रहेको थियो । यसरी हेर्दा क्षेत्र नं. १ मा प्रदेश तर्फ कांग्रेसका जिसी र एमालेका गाहा बलिया उम्मेदवार रहेको स्थानीय एक नेताले बताए ।

क्षेत्र नं. २ मा भने यसपटक लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदानमा होमिएका महतलाई कांग्रेसका विष्णु कार्कीले कडा चुनौती दिने अपेक्षा गरिएको छ । गत निर्वाचनमा उक्त क्षेत्रबाट महतले कार्कीलाई १३३३ मतले पराजित गरेका थिए । त्यतिबेला महतले ३९ हजार ५३ मत ल्याएका थिए भने कार्कीले ३७७२० मत ल्याएका थिए । त्यसबेला नेकपा एमाले फुटेको थिएन र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । तर अहिले नेकपा एमाले फुटेको र माओवादी केन्द्र पनि कांग्रेससँगको गठबन्धन रहेको हुनाले कांग्रेस कमजोर छ भन्ने पनि देखिँदैन ।

क्षेत्र नं. १ मा तुलनात्मक रुपमा कांग्रेस उम्मेदवार शशांक कोइराला बलियो देखिएका छन् । प्रदेशमा कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसीको उम्मेदवारी पनि कोइरालालाई सहायक सिद्ध हुने आंकलन गरिएको छ । नवलपुरका पुराना नेताका रुपमा परिचित र पञ्चायतकालदेखि नै जिल्लाको प्रतिनिधित्व गर्दै आएका चर्चित नेता जिसीले प्रदेशबाट उम्मेदवारी दिनु नवलपुर कांग्रेसका लागि सकारात्मक पक्ष पनि मान्न सकिन्छ ।

त्यस्तै क्षेत्र नं. २ मा भने अघिल्लो निर्वाचनमा झिनो मतान्तरसहित जित हात पारेका तिलक महतले यसपटक केही बढी मिहेनत गर्नुपर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा पराजित बनेका विष्णु कार्कीले नै यसपटक पनि उम्मेदवारी दिएका हुनाले कांग्रेसले एकीकृत समाजवादी र माओवादीको केही मतले नतिजा आफ्नो पक्षमा पार्ने अपेक्षा गरेको छ ।

नवलपुरका प्रभावशाली व्यक्तित्वका रुपमा मानिएका डा. गोपाल खनालले एकीकृत समाजवादीबाट प्रदेशसभामा उम्मेदवारी दिएका कारण पार्टीको साथै खनालको व्यक्तिगत मत प्रतिनिधिसभामा पनि कांग्रेसलाई नै पर्ने अपेक्षा गरिएको छ । त्यस्तै गत स्थानीय निर्वाचनमा विष्णु कार्कीले मध्यविन्दु नगरपालिकाको निर्वाचनमा ‘मौन’ बसेको आशंका सही ठहरिएमा यसपटक मध्यविन्दुबाट कार्कीले राम्रो साथ पाउन सक्नेछन् । गत स्थानीय तह निर्वाचनमा कार्कीको क्षेत्र रहेको हुप्सेकोट गाउँपालिका मात्र नेपाली कांग्रेसले जित हात पारेको छ ।

त्यस्तै नेकपा एमालेका तिलक महत तराईकै बासिन्दा भएको र केही हदसम्म उनको ‘थर’ कै कारण जातीय मत पनि ल्याउन सक्छन् । नवलपुरमा मध्यविन्दु र कावासोतीका केही थारु समूदायको मत नै निर्णायक मत रहेको हुनाले ‘महत’लाई थारु समूदायको मत पर्न सक्छ । यद्यपी उनी थारु महत भने होइनन् ।

गत निर्वाचनमा पहिलोपटक राजनैतिक मैदानमा देखिएका कार्कीले नवलपुरको पहाडी क्षेत्रको विकासमा सम्बोधन गर्नसक्ने योजना बनाएमा, पार्टीभित्रबाट पूर्ण साथ पाएमा र केही सीमित व्यक्तिको मात्र घेराबाट बाहिर निस्कन सकेमा नतिजा उनको पक्षमा जाने सम्भावना पनि छ । नवलपुरका कांग्रेस मतदाताहरु भने उद्योगपति विनोद चौधरीले उक्त क्षेत्रबाट उम्मेदवारी नदिँदा केही हतोत्साही भने देखिएका छन् ।

त्यस्तै वर्तमान सांसद तिलक महतले पनि पहाडी क्षेत्रको विकासमा खासै सम्झनालायक काम गरेको जनताले ‘भेउ’ पाउन सकेका छैनन् । महतको सकारात्मक पक्ष भनेको यसपटकको स्थानीय तह निर्वाचनमा उनको क्षेत्रमा पर्ने बौंदीकाली, विनयी त्रिवेणी, मध्यविन्दु र कावासोती नगरपालिका नेकपा एमालेले जित हात पारेको छ, त्यो नै उनको सबल पक्ष हो । महतले यसपटकको निर्वाचनमा उक्त स्थानीय तहहरुमा उम्मेदवारको व्यक्तिगत प्रभाव वा पार्टीको संगठनका कारण जित हात पारेको हो, त्यस कुराको पुष्टी गर्न निकै चुनौती देखिएको छ । कतिपय अवस्थामा गत स्थानीय तह निर्वाचनमा पार्टीका ‘राम्रा’ उम्मेदवार वा मतदाताको साथ भन्दा पनि विपक्षी पार्टीका ‘नराम्रा’ उम्मेदवारको कारण हुनसक्छ भन्ने कुरालाई पनि महतले विश्लेषण गर्नुपर्ने देखिन्छ ।

उक्त क्षेत्रका प्रदेशसभा ‘ख’का गठबन्धनका उम्मेदवार डा. गोपाल खनाल बलिया उम्मेदवार हुन् । डा. खनाललाई अझै गठबन्धनले प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनाएको भए अझै राम्रोसँग नतिजा आफ्नो पक्षमा पार्नसक्ने स्थानीय नेताहरु बताउँछन् । पहाडी भेग बौंदीकालीका पुराना बासिन्दा रहेका डा. खनाल पछिल्लो समय सदरमुकाम कावासोतीमा बसेर व्यावसायिक एवं राजनीतिक रुपमा सक्रिय रहेका व्यक्तित्व हुन् । कावासोती र हुप्सेकोट गाउँपालिकाका मतदाताहरु पहाडबाटै तराई सरेका हुनाले डा. खनालले उक्त क्षेत्रमा उम्मेदवारी दिएको भए उनलाई सहज हुने देखिएको थियो ।

त्यस्तै प्रदेशसभा ‘क’ मा भने जनताका लागि दुवै उम्मेदवार नयाँ जस्ता लाग्ने भएका कारण को बलियो भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको छैन । यस क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार महिला भएको मात्र नभइ तुलनात्मक रूपमा समाजमा केही भिजेकी भएका हुनाले उनको पल्ला भारी हुने पनि अनुमान लगाउन सकिन्छ । तर, गठबन्धनको निर्देशनअनुसार मतदाता चलेको खण्डमा उनलाई सिरपालीले बलियो टक्कर दिने कुरामा कुनै द्विविधा छैन ।