भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधार स्तम्भ हुन् : भारतीय सेनाध्यक्ष पाण्डे



कास्की । भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधार स्तम्भका रूपमा रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका पाण्डेले आज पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

कर्तव्यनिष्ठ र इमानदारी नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायतका सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उनले बताए ।

भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उनले जानकारी दिए । नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुला सिमानाका कारण दुवै देशका नागरिक सहजरूपमा आवतजावत गर्दै आएको उनले बताए ।

उक्त अवसरमा उनले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारजनलाई नगद, चेक तथा सामग्री हस्तान्तरण गरे । साथै उनले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीन वटा मोबाइल मेडिकल युनिटको चाबी हस्तान्तरण गरे । कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग भेट गरेका थिए ।