ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं – सर्वोच्च अदालतले ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको मंगलबारको एकल इजलासले ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । ज्येष्ठ नागरिक अर्जुनराज गिरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए । उनीहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएपछि सर्वोच्च पुगेका थिए ।
गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर ज्येष्ठ नागरिकका लागि खोप अभियान शुरु भएको थियो । ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो ।
तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो भने छैन ।