धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं – नेपालमा मनसुन शुरु हुना साथ वितण्डा मच्चाउन थालेको छ । आज (बुधबार) पनि देशका अधिकांश स्थानमा हल्कादेखि धेरै भारीसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता देशभरजसो लगातार वर्षाका कारण बाढी तथा पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा विध्वंस मच्चाइरहेको छ । अहिले (बुधबार बिहान) पनि गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म् र कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाले सतर्कतका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा लेखिएको छ : देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *