

देशभरका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा

काठमाडौं – भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि–मनसुनको गतिविधिका कारण आज (मंगलबार) नेपालमा तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज प्रदेश–१ र २ तथा सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश–१ का केही स्थान र बाँकी प्रदेशमा केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का सम्भावना रहेको विभागले जनाएको छ । मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।