अवकाशप्राप्त एआईजी थापाको अध्यक्षतामा नेपाल पूर्व सशस्त्र प्रहरी संघको नयाँ कार्यसमिति



काठमाडौं । स्थापनाले मुलुकको सबैभन्दा कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बलको अवकाशप्राप्त कर्मचारीको संघ नेपाल पूर्व सशस्त्र प्रहरी संघको १७ औं साधारणसभा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी कार्यालयको मुख्यालय हल्चोकमा सम्पन्न साधारण सभको उद्घाटन संघका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले गरेका थिए । उक्त अवसरमा आईजी अर्यालले संगठनलाई संघले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अवकाशप्राप्त संघका कर्मचारीहरुको अनुभवलाई पनि आत्मसाथ गर्दै लगिने जनाएका थिए ।

अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति समेत चयन गरेको थियो ।

छैटौं केन्द्रीय अधिवेशनसमेत रहेको उक्त सभाबाट अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा सर्वसम्मत रुपमा नयाँ कार्य समितिको अध्यक्षमा चयन भएका थिए ।

उक्त अवसरमा कार्यसमितिका ३९ सदस्यीय समितिको प्रमाणपत्र वितरण, शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो । उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष अवकाशप्राप्त एआईजी रविराज थापाले नवनिर्वाचित अध्यक्ष अवकाशप्राप्त एआईजी थापालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा देश विदेशमा छरिएर रहेका सशस्त्र प्रहरी बलका भूपूहरु, वीरगति प्राप्त तथा दिवंगत हुनेका आश्रित परिवारलाई एकशुत्रमा एकताबद्ध गराउने, भूपूहरुबीच दुख सुखमा साथ दिने र संगठन मार्फत स्वास्थ्य उपचार, सन्ततिलाई शिक्षा जस्ता कल्याणकारी कार्यहरु अघि बढाउने उद्देश्य रहेको समेत प्रष्ट पारिएको थियो ।

उक्त समितिलाई समावेशी तुल्याउने उद्देश्यका साथ सबै दर्जाको समिति बनाइएको र वीरगति प्राप्त गर्ने सहिद परिवारबाट, दिवंगत भूपूहरुको हकदारबाट र अशक्त अवकाश भएकाबाट समेत प्रतिनिधित्व गराइएको नवनिर्वाचित अध्यक्ष थापाले जनाए ।