

नेपालकी पहिलो महिला राजदूत शाहको निधन

काठमाडौं । नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्याएकी बिन्देश्वरी शाहको निधन भएको छ । बिहीबार बिहान ९१ वर्षको उमेरमा उनको निधन भएको हो ।
भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिएकी थिइन् । उनले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन् ।
शाहले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा सुरू गरेकी थिइन् । उनले वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेकी थिइन् । सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त भएकी शाह नेपालकी पहिलो महिला राजदूत हुन् ।
सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन् । उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन् । अनिल पूर्वबैंकर हुन् । उज्वलको भने पहिले नै निधन भइसकेको छ ।