

कमेडियन हिक्मत महराले गुमाए दुर्घटनामा ज्यान

कैलाली । कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ ।
कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो ।
लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो। महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए । तर हाल उनी गोदावरी–४ मा बस्दै आएका थिए ।