

३३६ नेपालीले विदेशमा कोरोनाबाट ज्यान गुमाए

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको ज्यान गएका छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको निधन भएको हो । योसहित २१ देशमा निधन हुने नेपालीको संख्या ३३६ जना पुगेको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाकाअनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ५९ हजार १२० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।