

बालिका बलात्कारको आरोपमा सशस्त्रका दुई सहायक हवल्दार पक्राउ

काठमाडाैं । दाङमा दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन् ।
उनीहरूमाथि गत असोज २४ गते सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएपछि स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए । बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका थिए ।
आरोप लागेका दुवैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । उनले घटनाबारे थप अनुसन्धान सुरु भएको जानकारी दिए।