लिभिङ टुगेदरमा बसेकी नायिकालाई गर्भवती बनाएर भाग्नेविरूद्ध बलात्कारको मुद्दा दायर

काठमाडौं । महिला कलाकारलाई बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा दायर गरेको छ ।

धादिङको धुनिबेशी नगरपालिका–१ का अमित श्रेष्ठविरुद्ध सोमबार जिल्ला अदालत, काठमाडौंमा बलात्कार मुद्दा दायर भएको हो ।

प्रहरीका अनुसार एक महिला कलाकारलाई बलात्कार गरेको अभियोग श्रेष्ठमाथि छ ।

फ्यानका रुपमा सामाजिक सञ्जालमार्फत जोडिएका ती युवक विवाह गर्ने आश्वासन दिई बलात्कार गरेको पीडितको अभियोग छ । तर, पछि विवाह नगर्ने भन्दै सम्पर्कविहिन हुन थालेपछि युवतीले बलात्कारको जाहेरी दिएकी थिइन् ।

अन्तिम पटक गत वर्ष १५ साउनमा बलात्कार गरेको पीडितको भनाई छ । हदम्याद सकिन लागेकाले प्रहरीले हालै मुद्दा दायर गरेको हो । युवक भने हालसम्म फरार छन् ।

पीडितको जाहेरीमा भनिएको छ,‘म कलाकारिता क्षेत्रमा कार्यरत छु । विपक्षी अमित श्रेष्ठले मेरो कलाकारिताको प्रशंसा गरी मेरो फ्यान भन्दै निज प्रतिवादी र म सामाजिक सञ्जालमार्फत कुराकानी भइरहेकोमा मिति २०७९ साल फागुन महिनामा भेटघाट भयो । सो पश्चात् पनि पटक-पटक भेटघाट हुँदा विपक्षीले मसँग विवाह गरी बसौं भनी प्रस्ताव गर्दा मैले अस्वीकार गर्दा समेत निज विपक्षीले विवाह पछि गरिहाल्छु भनी आश्वासन दिलाई विश्वस्त पारी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वनस्थली फोल्टीहोम गेष्ट हाउसमा लगी अनुचित प्रभावमा पारी शारिरीक सम्पर्क राख्नुभयो ।’

प्रहरीका अनुसारपछि दुई जना टोखामा लिभिङ टुगेदरमा बसेका थिए । त्यही क्रममा युवती गर्भवती भएपछि श्रेष्ठ सम्पर्कविहिन भएका थिए ।

प्रहरी स्रोतका अनुसार पीडित कलाकारिता क्षेत्रमा संघर्ष गर्दै आएकी मोडल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *