अस्पतालको शैय्याबाट क्याप्टेन भन्छन्, ‘जहाज उचाइमा लैजानै नसकेपछि मैले नियन्त्रण गुमाएँ’



काठमाडाैं । बुधबार बिहान बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान  पोखरा उडानको क्रममा उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।

चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १८ जनाको मृत्यु भएकाे थियाे ।

दुर्घटना पर्ने बित्तिकै जीवितै उद्धार गरिएका क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज लगिएको थियो । उनको सोही अस्पतालमा उपचार जारी छ । स्रोतका अनुसार हिजोभन्दा आज उनको अवस्थामा बढी सुधार भएको छ ।

उनी बोल्न सक्ने अवस्थामा छन् । उनले आफन्तसँग पनि कुरा गरेको अस्पताल स्रोतले जनाएको छ । क्याप्टेन शाक्यको निधारमा चोट लागेको थियो । क्याप्टेन शाक्यले काठमाडौं मेडिकल कलेज (केएमसी)की मेडिकल डाइरेक्टर  डा. मीना थापासँग दुर्घटनाबारे केही कुराकानी गरेका थिए  । उनले विमान टेकअफ गर्नैलाग्दा ५०/१०० मिटर माथि पुगेपछि नियन्त्रणबाहिर गएकाे बताएका थिए । विमान तल झरेपछि आफू बाहिर निस्केको उनले बताएका थिए । ‘सास फेर्न गाह्रो भइरहेकाे थियाे  । त्यसपछि मलाई रेस्क्यू गरेर ल्याइयो ‘ शाक्यको भनाई उद्दृत गर्दै डा थापाले भनिन् ।

‘जहाज रनवेबाट अघि बढेर करिब १०० फिटमाथि पुगेर उचाइमा लैजानै सकिएन । एक्कासि तल खस्न थाल्यो,’ शाक्यको भनाइबारे थापाले भनिन्, ‘जहाज अचानक तल झरेपछि मैले नियन्त्रण गुमाएँ । भुइँमा बजारिएसँगै मैले केही थाहा पाउन सकिनँ ।’

डाक्टरहरूसँगको कुराकानीका क्रममा उनले जहाज तल झरेसँगै आफूलाई एकै पटक एकदमै भारी वस्तुले थिचे जस्तो भएको बताएका छन् । उनले जहाज भुइँमा बजारिएपछि आफू त्यसको फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको पनि बताएका छन् । शाक्यले ककपिटको प्वाँलबाट बाहिर निस्किने क्रममा आफूलाई कसैले तानेको याद भएको बताए ।

शाक्य भाग्यले बाँचेकाे भन्दै  खुसी भएकाे बताइएकाे छ । उनीलाई अहिले आइसीयूमा राखिएकाे छ ।  एमआरआईको रिपोर्ट आएपछि आइसीयूबाट बाहिर निकाल्ने तयारी भएकाे बताइएकाे छ ।