बझाङका रोकायाले निकाले एकैपटक ६ ठाउँमा उपसचिवमा नाम



काठमाडौं । पछिल्लो समय नेपालको सरकारी जागिरमा चाख घट्दै गइरहेको जनाइएको छ ।

कतिपय अवस्थामा पटकौं पटक आवेदन आह्वान गरिनु, अनि आवश्यकता भन्दा कम परिक्षार्थी उत्तीर्ण हुनु सामान्य हो । तर, यही कर्मचारीका लागि कुनै पनि एक व्यक्तिले ६/६ स्थानबाट नाम निकाल्नु भने चानचुने होइन, त्यो पनि उपसचिव जस्तो उच्च अधिकृतको पदका लागि, त्यही पनि दुर्गम बझाङ जिल्लाका व्यक्तिले ।

यसपटकको उपसचिवको परिक्षामा बझाङ खप्तडछान्ना गाउँपालिका–७ गडराय गाउँका ३४ वर्षीय शेखर रोकायाले ६ ठाउँमा नाम निकालेका छन् ।

लोक सेवा आयोगले उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेपछि धेरैलाई अचम्मित पारेका छन् ।

रोकायाले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् ।

२०६९ सालदेखि खरिदारदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले १० महिनामै नायब सुब्बामा नाम निकाले भने २०७४ सालमा शाखा अधिकृतमा नाम निकाले । त्यसपछि यसपटक उपसचिवमा नाम निकालेका रोकायाले आत्मविश्वास र दृढ लगन रह्यो भने लोकसेवा उत्तीर्ण गर्न सकिने समेत जनाए । उनले कर्मचारी प्रशासनको उच्च तहमा पुगेर देशको लागि सकेसम्म धेरै काम गर्ने प्रण समेत गरेका छन् ।