शोकमा डुब्यो रोल्पाको माडी, मृतक सबै रोल्पाकै (नामसहित)



रुपन्देही । रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।

रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ सडकबाट झण्डै चार सय मिटर तल खस्दा ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँकी ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीय जुनमाया खड्का, रोल्पाकै परिवर्तन गाउँपालिका– २ का ३१ वर्षीया रामकली पुन, माडी गाउँपालिका– ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगीको मृत्यु भएको र बालिका अमृताकी छोरी रहेको आशंका गरिएको छ । मृतकमध्ये ६ जना माडी गाउँपालिकाका र एकजना परिवर्तन गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ । सनाखत भएसँगै माडी गाउँपालिका शोकमग्न बनेको छ ।

दुर्घटनामा आठ जना घाइते भएका छन्। त्यसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घाइते ८ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने गम्भीर अवस्थाका ६ जनालाई थप उपचारको लागि बुटवल ल्याइएको छ । उनीहरुको चौराह अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हो। जिपमा सवार दिलकुमारी घर्तीले जिप खस्नुअघि हामफालेर ज्यान जोगाएकी थिइन्। उनले गाउँले गुहारेपछि घाइतेको तत्काल उद्धार गरिएको थियो।