

प्रहरी हवल्दार बोहोरासहित २ करोड लुटपाटमा संलग्न ४ जना पक्राउ

काठमाडौं – भक्तपुरमा भएको लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे २ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी २ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र ३८ वर्षीय कृष्णबहादुर बोहोरा रहेका छन् ।
कृष्णबहादुर महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी हवल्दारसमेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेका थिए ।
उनीहरुले गत असार ४ गते भक्तपुर सूर्यविनायक ४ दधिकोट बस्ने ४५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट दुई करोड नेपाली रकम लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामासमेत रहेको प्रहरीले जनाएको छ ।
डिल्लीले मानिसहरुलाई विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ ।