प्रेममा हारेका २ सिपाही, करिश्मा र अजित !

नेपाल प्रहरीका दुई जवानहरुले एक साताकै बीचमा शौचालयमा आत्महत्या गरेका हुन्



काठमाडौं । प्रेम र युद्धमा जे पनि जायय हुन्छ भन्ने मान्यता सुनिँदै आएको छ । त्यस्तै यो एक सातामा युद्धको मैदानमा खटिने दुई प्रहरीहरुले प्रेममा हार मान्दै जीवन समाप्त गरेका छन् ।

नेपाल प्रहरीमा कार्यरत प्रहरी जवानहरु करिश्मा सुनार र अजित गोलेले प्रेमकै कारण आफ्नो ज्यान दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरु दुवैले मृत्वुवरण गर्ने तरिका फरक फरक अपनाए पनि स्थान भने एउटै छानेका छन् । दुवैले शौचालयमा झुण्डिएर र गोली हानेर ज्यान लिएको भेटिएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनभित्रको शौचालयमा प्रहरी जवान अजित गोले मृत अवस्थामा भेटिएका थिए । एक साताअघि ३१ जेठमा जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमै अर्का प्रहरी जवान करिश्मा सुनार मृत अवस्थामा भेटिएकी थिइन् । दुवैले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आत्महत्या दुरुत्साहनको आरोपमा करिश्माका प्रेमी पुष्कर थापा मगरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ ।

२५ वर्षकी करिश्मा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलाको शौचालयमा मृत फेला परेकी थिइन् ।

मोबाइलमा भेटिएको म्यासेजको आधारमा पुष्करलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सिरहाका एसपी रमेश पण्डितले बताए । ‘मोबाइलमा केही दुरुत्साहन देखिने किसिमका केही प्रमाणहरु भेटिएपछि हुम्लाबाट पक्राउ गरी ल्याएर अनुसन्धान अघि बढाएका छौं’ एसपी पण्डितले जनाए ।

बुधबार दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले संसद भवनको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनको मोवाइल पनि शौचालयमा भेटिएको छ ।

प्रेम सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको खुल्ने किसिमका म्यासेजहरु गोलेको मोबाइलमा भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘आत्महत्या गर्नुको कारण प्रेमिकासँगको सम्बन्धमा दरार रहेको खुलेको छ’, एक अनुसन्धान अधिकारीले भने ।

गोलेले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली निधारमा हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । –कागजपत्र