

सशस्त्रले बनायो डेडिकेटेड मनसुन प्रतिकार्य टोली, ५० टोलि फिल्डमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले २४ सै घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ।
मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपदमा परेकाहरूको तत्कालै उद्धारको लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन तथा अन्य युनिटहरूमा १ सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको हो।
प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७/७ प्लाटुन, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले ३ प्लाटुन जनशक्ति चौबीसै घण्टा खटाउन सक्ने गरी तयारी हालतमा राखेका छन्। सबै बाहिनीका गरी ५० वटा टोली अहिले विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएको छ।
सो टोलीले आफ्नो जिम्मेवारी इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा वस्ती लगायत अन्य महत्त्वपूर्ण संरचना जस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्थासमेत मिलाइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
साथै बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरूमा सिनियर अधिकृतको कमाण्डमा र बीओपी तथा बेुहरूमा जुनियर अधिकृतको कमाण्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था समेत मिलाइएको छ।