सशस्त्रद्वारा १ करोड १ लाख नगदसहित एक पक्राउ



सुनसरी । सशस्त्र प्रहरी बलको एक टोलीले हुन्डिको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ।

सुनसरी जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले जेठ १९ गते शनिबार राती घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसंगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी बर्ष ३७ को ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाई थप अनुसन्धान तथा कारबाहिका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ।