

यसरी सकिन्छ सेयरबाट पैसा कमाउन, बेलैमा गराैं तयारी

-रिसभ पाण्डे
युगको परिवर्तन र बिकसित मानविय सभ्यतासँगै बद्लिँदै गएको मानविय जीवनशैलीलाई हेर्दा वर्तमान समयमा मानिस पैसा प्रति निकै लिप्त हुँदै गएको प्रष्ट छ । कसैसँग प्रशस्त पैसा छ भने उ आफूलाई सफल भएको ठान्दछ । हुन त धन नै सफलता हैन तर विश्वमा आज बिना धन नै सफल भएका मानिसहरु बिरलै रहेका छन् ।
यस्तो प्रतिस्पर्धात्मक परिस्थितिमा कोहि सफल बन्न चाहन्छ भने उसको आर्थिक पक्ष पनि मजबुत हुनु अत्यावश्यक जस्तै भइसकेको छ । विज्ञहरु भन्छन्, ‘पैसा हावामा उडिरहेको हुन्छ, टिप्न सके एैस् टिप्न नसके इस् ।’ पैसा कमाउने अनेकौँ उपाय छन् । कोहि पैसाका लागि आफ्नो परिश्रम बेचिरहेका हुन्छन् त कोहि त्यहि पैसाले अरुको परिश्रम किनिरहेका हुन्छन् । तर विश्वमा त्यस्ता उपायहरु पनि छन् जहाँ परिश्रमको किनबेच बिना नै पैसा कमाउन सकिन्छ ।
पहिलो पटक सुनेकाहरुलाई अचम्म लाग्न सक्छ तर यहि नै सत्य हो । अझ सत्य के हो भने विश्वमा जुनसुकै देशमा पनि भएका ठूला पब्लिक कम्पनीहरुले आफ्नो कुल पूँजीको केहि भाग सर्वसाधारणका लागि पनि जारी गरेका हुन्छन, जसलाई नेपालीमा प्रत्याभुति र अंग्रेजीमा शेयर भनिन्छ । आफूसंग भएको थोरै पूँजिलाई पनि शेयर मार्फत लगानी गरी बिना परिश्रम धेरै बनाउन सकिन्छ । नेपालमा वर्तमान समयमा शेयर कारोवारको पहँुच देशका हरेक कुना कन्दरासम्म पुग्दै गएको अवस्था छ । यसै अनुरुप यसबारे चासो लिनेहरु पनि दिन प्रतिदिन बढ्दै गएका छन् ।
के हो त शेयर ?
कुनैपनि पव्लिक कम्पनीको स्थापना गर्न वा स्थापित कम्पनीको बिस्तारका लागि ठूलो मात्रामा पूँजीको आवश्यकता पर्दछ । त्यस्तो पूँजी निश्चित समूह र सरकारबाट केहि भाग संकलन गरिन्छ भने केहि भाग सर्वसाधारण जनताहरुबाट संकलन गरिन्छ । यसरी कम्पनीले पूँजी संकलन गर्दा सहजताको लागि ठूलो पूँजीलाई स–साना भागमा बिभाजन गर्दछ, जसलाई शेयर भनिन्छ । जस्तै, कुनै कम्पनीलाई एक करोड रकम कम्पनी बिस्तारको लागि आवश्यक छ भने त्यो रकम एकै व्यक्तिमार्फत्् संकलन गर्न सम्भव नहुन सक्छ । यस्तो बेलामा कम्पनीले त्यो जम्मा रकमलाई १०० ले भाग गरी आउने जम्मा संख्यालाई सेयरको रुपमा जारी गर्दछ । त्यसरी पूँजीलाई १०० ले भाग गरी निकालिएको संख्यालाई शेयर संख्या भनिन्छ, जुन सेयर संख्यालाई नै हामी व्यवसायिक भाषामा शेयर कित्ता भन्दछौँ ।
यदि तपाईँले कुनैपनि कम्पनीको शेयर खरिद गर्नुभयो भने उक्त कम्पनीले तपाईँलाई तपाईँको लगानी बराबरको स्वामित्व हस्तान्तरण गर्दछ, अर्थात तपाईँ उक्त कम्पनीमा आफ्नो लगानी बराबरको मालिक बन्नुहुनेछ । अब तपाईँ उक्त कम्पनीको मालिकको हैसियतले कम्पनीले आफू नाफामा रहेको अवस्थामा प्रदान गर्ने बोनसको भागिदार बन्न सक्नुहुनेछ तर साधारण शेयर धनीलाई बोनस दिनैपर्छ भन्ने हुँदैन । कम्पनी अत्याधिक नाफामा रहेको अवस्थामा नियम अनुसार कम्पनीले बोनस प्रदान गर्दछ । त्यसैगरी कम्पनी सबैकुराबाट राम्रो रहेको अबस्थामा तपाइँको शेयरको मुल्य पनि बढिरहेको हुन्छ ।
शेयर कारोबार कसरी गर्न सकिन्छ ?
शेयरको सामान्य जानकारी लिइसकेपछि यसको कारोबार गर्न जो कोहि पनि इच्छुक हुनु कुनै नौलो कुरा हैन । यसैको कारोबारमा लागेर रोडदेखि करोडको यात्रामा लागेका कैयौँ उदाहरणले पनि जो कोहिलाई उत्प्रेरित गर्दछ । यो वित्तिय संस्थासंग सम्बन्धित लगानी कारोबार भएकाले सेयर बजारमा लाग्नको लागि सर्वप्रथम त तपाइँको कुनैपनि बैंकमा आफ्नो बैंक खाता हुन जरुरी छ । त्यसपछि तपाइँले सोहि बैंकबाट आफ्नो डिम्याट खाता पनि अनिवार्य रुपमा खोल्नुपर्दछ । डिम्याट खाता नम्बर प्राप्त गरेपछि सोहि बैंकबाट सि आर एन नम्बर अनिवार्य रुपमा लिनु पर्दछ । बैंक खाता, डिम्याट खाता र सिआरएन नम्बर पश्चात कुनैपनि कम्पनीको आइपिओ शेयर खुलेको बेलामा सम्बन्धित बैंकमा गएर सेयर आवेदनको फर्म भर्न सकिन्छ । तर हाल मेरो शेयर खातामार्फत् घरमै बसेर पनि शेयर भर्न सकिन्छ । अब बैंकले तपाइँले भर्नुभएको उक्त फर्मलाई भेरीफाईड गर्दछ । त्यसपछि कम्पनीले शेयर बाँडफाँड गर्दा तपाइँले आफ्नो भाग शेयर प्राप्त गर्न सक्नुहुन्छ, जुन कुरा तपाइँको डिम्याट नम्बरबाट सजिलै हेर्न सकिन्छ । यत्ति चरण पार भएपछि तपाइँ शेयर बजारको प्राथमिक चरणमा प्रवेश हुनुभयो ।
के हो त आईपीओ ?
कुनैपनि पब्लिक कम्पनी सञ्चालनको लागि सर्वप्रथम संस्थापकहरुले संस्थापक शेयर हाल्दछन् । त्यसपछि बाँकी रकम ऋण र साधारण शेयर जारी गरेर जम्मा गरिन्छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डबाट स्विकृति लिएर मात्र साधारण शेयर जारी गर्न सक्दछ, जुन सेयरको मूल्य प्रति कित्ता रु १०० हुन्छ । त्यसैलाई आईपीओ भनिन्छ । यसको पुरा रुप इनिसियल पब्लिक अफर हो । आईपीओमा निश्चित प्रकृया पुरा गरी जो–कोहीले पनि आवेदन दिन सक्दछन् । हालसम्म न्युनतम १० कित्ताको लागि आवेदन दिन पाउने व्यवस्था छ भने अब छिट्टै न्युनतम ५० कित्ता बनाउने कुरा धितोपत्र बोर्डले जानकारी दिएको छ तर बढिमा भने कम्पनीले तोके अनुसार आवेदन दिन सकिन्छ ।
के हो त डिम्याट ?
डिम्याट शेयर बजारमा लाग्नको लागि अनिवार्य आवश्यक खाता हो । बैंक खातामा पैसा जम्मा भएजस्तै डिम्याट खातामा शेयर जम्मा हुन्छ । नयाँ शेयर खरिद गर्दा खातामा सेयर संख्या बढ्छ भने शेयरलाई बेच्दा खातामा शेयर संख्या घट्छ । बैंकले बैंक खाता खोले जस्तै, धितोपत्र बोर्डबाट निक्षेप सदस्यता प्राप्त गरेका निकायहरु बैंक, बैंकको सम्बन्धित क्यापिटल र ब्रोकरले डिम्याट खाता खोल्छन् । खाता खोलेपछि सम्बन्धित निकायबाट एक देखि तीन दिन भित्र खाता नम्बर प्राप्त गर्न सकिन्छ जुन शेयर कारोबारका लागि अत्यावश्यक नम्बर हो । आईपिओको लागि फर्म भर्दा डिम्याट नम्बर अनिवार्य रुपमा भर्नुपर्दछ । पहिलोपटक डिम्याट खाता खोल्दा सम्बन्धित निकायले रु १५० चार्ज लिन्छ भने खाताको बार्षिक नविकरणको लागि रु १०० लाग्दछ । डिम्याट खाता बढीमा दुईवटासम्म खोल्न सकिन्छ भने द्वितीय शेयर बजारमा पनि दुवै खाताबाट कारोबार गर्न सकिन्छ तर प्राथमिक शेयर बजारमा आईपिओ भर्दा भने प्रति व्यक्ति एउटा खाताबाट मात्र शेयरको आवेदन दिन सकिन्छ । नत्र दुवै आवेदन रद्ध हुन्छ ।
के हो त सिआरएन ?
डिम्याट खाता पश्चात शेयर भर्नका लागि अनिवार्य रुपमा आवश्यक कुरा नै सिआरएन नम्बर हो । आफ्नो खाता भएको बैंकमा गएर सि–आस्वा लग् इन्को फर्म भरेपछि बैंकले तुरुन्तै सिआरएन नम्बर प्रदान गर्दछ । जुन नम्बर आईपिओ को लागि मेरो शेयर फर्म भर्दा अनिवार्य रुपमा भर्नुपर्दछ । सिआरएन नम्बरले तपाइँको बैंक खाता र डिम्याट खाताको बिचमा पुलको काम गर्दछ । यहि नम्बरको आधारमा तपाइँले आईपिओको लागि दिनुभएको आवेदन बराबरको रकम बैंकले तपाइँको बैंक खाताबाट ब्लक गर्दछ । शेयर परेमा तपाइँको आवेदन बराबरको रकम कम्पनीले लिन्छ र तपाइँलाई शेयर स्वामित्व दिन्छ । यदि तपाइँलाई शेयर नपरेको खण्डमा तपाइँले दिनुभएको आवेदन बराबरको रकम जस्ताको त्यस्तै तपाइँको बैंक खातामा फिर्ता आउँछ । सिआरएन नम्बर बापत बैंकले प्रति कारोबारमा रु १०० सम्म चार्ज लिन पाउँदछन् तर कुनै–कुनै बैंकले प्रति आवेदन रु २ देखि रु ३० सम्म चार्ज लिएपनि धैरैजसो बैंकले भने यो सेवा फ्रि मा नै प्रदान गर्दै आएका छन् ।
घरबाटै शेयर कारोबार कसरी गर्ने ?
२०७४ माघबाट भने शेयरको कारोबार इन्टरनेटको माध्यमबाट घरमै बसेर गर्न पनि सकिने भएको छ । जसको लागि बैंक खाता, डिम्याट खाता र सिआरएन नम्बर पश्चात सम्बन्धित बैंक वा बंैकको सम्बन्धित क्यापिटलमा गएर मेरो शेयरको फर्म भर्नुपर्दछ । फर्म भरेर बुझाएको २ देखि ३ दिनभित्र सम्बन्धित निकायले तपाइँले फर्म भर्दा उल्लेख गर्नुभएको इमेलमा युजर आईडी र पासवर्ड पठाइदिन्छ । त्यसपछि तपाइँले इन्टरनेटको माध्यमबाट आफ्नै घरमा बसेर आईपीओ भर्न सक्नुहुन्छ । ‘मेरो शेयर’को खाताबाट आईपिओ भर्न, नयाँ खुलेको आईपिओबारे जानकारी लिन, आफ्नो डिम्याटमा भएको शेयर र त्यसको कुल बजार मुल्य बारे जानकारी लिन, शेयर बेचेपछि उक्त बेचेको शेयरलाई सम्बन्धित क्रेतालाई ट्रान्सफर गर्न लगायत थुप्रै काम गर्न सकिन्छ । मेरो शेयर खाता खोल्नको लागि रु ५० लाग्छ भने यसको बार्षिक नविकरणको लागि पनि रु ५० नै लाग्छ ।
शेयर कसरी किन्न/बेच्न सकिन्छ ?
प्राथमिक शेयर बजारमा आईपीओ सँग सम्बन्धित कुराहरु पर्दछन भने द्वितीय शेयर बजारमा आफूसंग भएको शेयरलाई वर्तमान बजार मुल्यमा बेच्ने र सोहि मुल्यमा बेच्न चाहनेहरुबाट शेयर किन्ने कुराहरु पर्दछन् । नेपालमा द्वितीय शेयर बजारको कारोबार ब्रोकरहरुको माध्यमबाट मात्रै गर्न सकिन्छ तर अब बिस्तारै बैंक तथा क्यापिटललाई पनि यस्तो अधिकार धितोपत्र बोर्डले दिँदैछ । नेपालमा हाल ५० वटा ब्रोकर अफिसहरु सेयर कारोबारका लागि धितोपत्र बोर्डमा सुचिकृत रहेका छन् । जसमध्ये धेरैजसो ब्रोकर काठमाण्डौँमा रहेका छन् भने केहि ब्रोकरको शाखा अन्य बाहिरी जिल्लाहरुमा पनि रहेका छन् । आफूसंग भएको शेयरलाई बेच्नको लागि बिश्वासिलो, भरपर्दो कुनै एउटा ब्रोकर छानेर उक्त ब्रोकर अफिस धाएर ब्रोकर अकाउन्ट खोल्नुपर्ने हुन्छ । त्यसपछि ब्रोकरले तपाइँलाई खाता नम्बर प्रदान गर्दछ । उक्त ब्रोकर खाता नम्बरको आधारमा तपाइँले शेयर बिक्री गर्न सक्नुहुन्छ । हाल द्धित्तिय बजारमा शेयर कारोबार आफ्नै घरबाट बिधुत्तिय माध्यमबाट पनि गर्न सकिन्छ । जसको लागि ब्रोकर अकाउन्टसँगै टिएम्एस् अकाउन्ट पनि हुनु पर्दछ ।
के हो त ब्रोकर अकाउन्ट र टिएम्एस् ?
द्वितीय बजारमा शेयरको किनबेचका लागि ब्रोकर अफिसमा सुचिकृत हुन आवश्यक खाता नै ब्रोकर अकाउन्ट हो । यसको माध्यमबाट शेयर प्रमाणपत्रको आधारमा ब्रोकर अफिस धाएर आफूसँग भएको शेयरलाई प्रमाणपत्र बुझाएर सेयर बेच्न सकिन्छ भने शेयर किन्न पनि सकिन्छ । शेयर प्रमाणपत्र आईपिओ भरेको निकायबाट प्राप्त गर्न सकिन्छ, जुन शेयर कारोबारको पुरानो विधि हो । २०७४ माघ महिनादेखि शेयर कारोबारमा विद्युतीय माध्यमको सुरुवात भएसँगै शेयरलाई टिएम्एस्को माध्यमबाट धरबाटै बिक्री गर्न सकिन्छ । त्यसैगरी आफ्नो इच्छा अनुसार घरैबाट शेयर किन्न पनि सकिन्छ । यसको लागि ब्रोकर अकाउन्ट संगै टिएम्एस् खाता खोल्नु पर्दछ, जसलाई ट्रेड मेनेजमेन्ट सिस्टम भनिन्छ । ब्रोकर अकाउन्ट र टिएम्एस्को फर्म भरेपछि ब्रोकरले १० दिन भित्र इमेलमा युजर आईडि र पासवर्ड पठाइदिन्छ । जसबाट निश्चित मापदण्डमा रहेर जुनसुकै बेला शेयर बेच्न र किन्न सकिन्छ । ब्रोकरले ब्रोकर अकाउन्ट र टिएम्एस् सेवा प्रदान गरेबापत कुनैपनि शुल्क लिदैन तर शेयर किनबेच गर्दा सेवा प्रदान गरेबापत प्रति कारोबार नियम अनुसार निश्चित प्रतिशतका दरले ब्रोकर कमिशन भने लिन्छ । -अनलाइनन्यूजसेभेनबाट