

रुसी सेनामा भर्ती भएका बाग्लुङका विकले गुमाए ज्यान

काठमाडौं । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको हो ।
गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए । रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो ।
विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघि मात्रै जानकारी पाएको ताराखोला गाउँपालिका-२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।
मृतक विकका दलालले उनको मृत्युको खबर पोर्चुगलमा रहेका कान्छा भाइलाई जानकारी दिएका थिए ।
योसँगै रूसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १३ पुगेको छ ।