सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, दैलेखका थापा प्रहरी फन्दामा



नेपालगन्ज । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपियाँ ठगेर थापा फरार थिए ।

अहिले नेपाली सेनाका लागि छनोट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ ।

थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।