साम्पाङको बाचा, ‘न्यायको लडाँइमा कसैले मलाई साथ देवोस-नदेवोस् म एक्लै भएपनि लड्छु’



धरान । धरान उपमहा नगरपालिकाका मेयर हर्क साम्पाङले आफूले समाधानमूखी कार्य गर्न खोजेकोले सहयोग नपाएको जुनासो गरेका छन् । सामाजिक सञ्जालमा अत्याधिक सक्रिय रहने मेयर साम्पाङले पछिल्लोपटक केही लामो स्टाटस लेख्दै आफू परिवर्तन नहुने तर परिवर्तन ल्याउने जनाएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘वास्तवमा अरु केही होइन ! यो देश नबनोस र संधै भरि गरीबीको मुद्दा, सानासाना समस्यालाई एजेण्डा बनाएर चुनाव जित्न र सत्तामा पुगेर रजाइँ गर्न पाइयोस् भन्नेहरुलाई मैले गर्न चाहेको समाधान मूखी कार्य मन नपरेको हो ! म सत्य, न्याय र समानतामा आधारित तर्क गर्छु हो त्यही मन नपरेको हो ! जनतालाई सताब्दियौँ सम्म पेलेर शासन गर्न चाहने पार्टीहरुका विरुद्ध, उनीहरुले फैलाएका भ्रष्टाचार, अन्याय, अत्याचार र गुण्डागर्दीको खुलेर एक्लै विरोध गर्दै आएको म मेरो स्वाभाव अझै परिवर्तन भएको छैन र हुँदैन पनि ! स्वरुप मात्रै हो परिवर्तन भएको हो हिजो सडकमा थिएँ आज धरानको मेयरको पदमा कुर्सीमा छु ! स्वरुप परिवर्तन मात्रै हो ! म स्वाभावले अन्याय र विभेद सहने किसिमको छैन ! म खुलेरै बोल्छु ! कसैलाई बाँकी राख्दिन किनकि मेरो चेतनाले सम्झौता गर र अन्याय सहेर बस कहिल्यै भन्दैन !’

त्यस्तै उनले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो निकाल्नुको कारण पनि त्यही भएको बनाएका छन् । उनी लेख्छन्, ‘प्रधानमन्त्री र राष्ट्रपतिको फोटो झिलेर फाल्नुको कारण पनि त्यही हो ! पुर्वकै पुरानो प्राचीन शहर धरानलाई बिकासका पूर्वाधार नदिएको ! खानेपानीसम्म नपाएर जनताले भोग्नु परेको अन्यायको हिसाब म सङ्ग छ ! केन्द्र सरकारले सहयोग गरेको खोइ ? कहिले हातभरि ठेला पानी फोका बोकेर जनताको धारा रसावोस भनेर पानीको ट्याङ्की बनाइहिँड्छु म ! त कहिले खोलाखोली र भीर पाखामा पाइप तान्दै लड्दै त पड्दै झुण्डिहिँड्छु म ! कहिले हिलै हिलो त कहिले कुरैकुरो पानीको मूहान बचाउन र बढाउन लाखौँ बिरुवा रोपिहिँड्छु !’

केन्द्र सरकारले पनि कामको मूल्यांकन नगरेको गुनासो गर्दै उनी लेख्छन्, केन्द्र सरकारले त्यसको मूल्याङ्कन गर्नु त कता हो कता उसको निकायले मलाई मुद्दा माथी मुद्दा लगाएर गर्न खोजेको के ? धरानको प्रमुख भैरहँदा मैले धरानको बिकास र धरानको अधिकारको लागि सोचिरहंदा र एक्लै लडिरहंदा केन्द्रले कहिल्यै भने जस्तो सहयोग गरेन ! २० बर्ष पुरानो एयरपोर्टको कथा के हो ? उठान गरेर म अघि बढ्न खोज्दा खोइ सहयोग गरेको ? अरु त अरु अहिले बि.पि. अस्पतालको हालत के छ ? कसैलाई छ चिन्ता ? यी सारा कुरा हरुलाई मिलाएर बुझ्दा धरानलाई हेला गरेको बुझिन्छ त्यसैले केन्द्र सरकार विरुद्ध मैले एकल आन्दोलन छेडें ! मलाई कसैले साथ दिएनन् र थाहा छ दिनेवाला छैनन् सिवाय जनताले ! किनकि मालिकलाई रिझाउन पुष्टि कि पुष्टि भन्दै कराएको र आँखाको इशारा र हातको इशारा पनि सबैले देखे बुझे अब ! यो न्यायको लंडाइमा कसैले मलाई साथ देवोस नदेवोस म एक्लै भए पनि लड्छु ! हिजो पनि म एक्लै लडेकै हो र आज पनि एक्लै लड्न तयार छु म ! किनकी सत्य र न्यायका लागि एक्लै भए पनि लड्नु पर्छ ! बिभेद, बेथिति अन्याय र अत्याचार विरुद्ध म एक्लै काफी छु ! दुनियाँभरको भेला भएर मलाई घेरे पनि म लड्न तयार छु ! को को लड्ने हो आउँदा हुन्छ ! बाँचिन्जेल म यस्तै हुँ ! I will not change but I will bring the change.’