

सशस्त्र प्रहरीद्वारा ८० लाख बराबरको लत्ताकपडा बरामद

सिराहा । सिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते सशस्त्र प्रहरीले करीव ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको हो ।
स्थानीय वासिको तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कस्ले राखेको भन्ने खुल्न सकेको छैन । पछिल्लो समय नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको छ ।
बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।